एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि

एजेन्सी

विहीबार, ३१ साउन २०८१, ०६ : ४८
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि

एजेन्सी । आफ्नो डेब्यू खेलमा किलियान एम्बाप्पेले गोल गर्दा रियल मड्रिडले सिजनको पहिलो उपाधिको रूपमा यूईएफए सुपरकप जितेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस महारथीले इटालियन क्लब एटलान्टामाथि २–० को सहज जित हासिल गरेको हो ।

२५ वर्षीय फ्रेन्च फरवार्डले पहिलो हाफमा भने कुनै उल्लेखनीय योगदान गर्न सकेनन् । एटलान्टाले निकै अनुशासित खेल प्रदर्शन गर्दा रियलले लय समात्न सकेन ।
तर, दोस्रो हाफको ५९ औँ मिनेटमा भिनिसियस जुनियरले फेडेरिको भालभर्डेका लागि गोलको अवसर सिर्जना गरे ।

६८ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । जुड बेलिङहमको पासमा उनले गोल गरेका थिए ।

त्यसपछि कुनै गोल हुन सकेन र रियलले कीर्तिमानी छैटौँ पटक उपाधिमाथि कब्जा जमाउन सफल भयो ।

रियलपछि एसी मिलान र बार्सिलोनाले ५–५ पटक यो उपाधि जितेका छन् । यता, कार्लो एन्चेलोटीले रियलसँग जितेको यो १४ औँ उपाधि थियो ।

प्रतिक्रिया दिनुहोस