आईएमई अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, ११ : ३३
आईएमई अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ : अध्यक्ष ढकाल

काठमाडौं। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले अहिले आईएमई भनेकै पैसा पठाउने कामको पर्याय बनेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै सानो काउन्टरबाट शुरू भएको आईएमई अहिले विश्वका कुना कुनाको पहिलो रोजाइ बन्न पुगेको बताए ।

आईएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । विदेशबाट पैसा पठाउने छिटो र भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म भएको उनले स्मरण गरे । 'आजभन्दा करिब २५ वर्ष पहिले (सन् २००१ मा) आईएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा पक्कै पनि सहज थिएन ।

औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन,' उनले भने, 'विदेशबाट पैसा पठाउने छिटो र भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म हुन पुगेको हो । आईएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाको पहिलो रोजाइ बन्न पुगेको छ । त्यतिमात्र होइन आईएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ ।'

शुरूआतमा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको रेमिट अहिले  २०० मिलियन डलरभन्दा बढी पुगेको उनले बताए ।नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा आईएमईकै बैंक तथा वित्तीय संस्थाले ओगटेको उनको भनाइ छ ।

आईएमई शुरूआतको समय करिब २० प्रतिशत मात्र रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ,' उनले भने, 'हामीले आईएमई शुरू गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौं । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ ।कम्पनीले अहिले बैंकिङ, केबलकार, होटल, जलविद्युत्, अटोमोबाइल, बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए ।

 

 

 

 

एक करोड चुक्ता पुँजीबाट शुरू गरेको आईएमई कम्पनी अहिले एक अर्बभन्दा बढीको भएको उनले बताए ।  'हामीले आईएमई शुरू गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन ।

सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन शुरू गर्‍यो,' उनले भने, 'एक करोड चुक्ता पुँजीको आईएमई अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको छ । ग्रुपमार्फत् विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ ।

रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा शुरू गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ।'निस्वार्थ भावनाले गरिएको मेहनतले सही परिणाम दिने र सफलता मिल्ने कुरा केही वर्षमै आईएमईले पुष्टि गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस