आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो : मुख्यमन्त्री शाही

शनिबार, २० असोज २०७५, १६ : १९
आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो : मुख्यमन्त्री शाही

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताउनुभएको छ । 
यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर थियो”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको छ ।” 

साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उहाँले आरोप लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो, “गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ ।” 

एक फरक प्रसङ्गमा उहाँले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । 
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस