तारागाउँ विकास समिति सरकारलाई बोझ भयो : माधव नेपाल

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १४ : ३८
तारागाउँ विकास समिति सरकारलाई बोझ भयो : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटल÷रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको राम्रोसँग सदुपयोग नभएको बताएका हुन् ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा पर्यटन समितिको बैठकमा नेपालले सो धारणा राखेका हुन् । तारागाउँ विकास समितिबाट सन्चालित ककनीको रिसोर्टमा आफू पनि बसेको जानकारी दिँदै उनले भने, ‘व्यवस्थापन अत्यन्तै खतम छ ।’

२०६१÷६२ तिर नगरकोटको नेपाली सेनाको ब्यारेक नजिकको रिसोर्टमा पनि आफू बसेको भन्दै उनले त्यसको बेहाल देखेको बताए । उनले पोखराको रिसोर्टबारे पनि नराम्रो कुरा सुनेको नेपालले बताए ।

तारागाउँ विकास समिति केही कर्मचारी र व्यक्तिहरुलाई जागिर खुवाउने ठाउँमात्रै बनेको छ कि यसबाट सरकारलाई राजश्व पनि प्राप्त भइरहेको छ भनेर जानकारी राख्नुपर्ने उनले बताए ।

तारा गाउँ विकास समितिको नाममा रहेका जग्गा र रिसोर्टहरु सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ भनेर जानकारी लिनुपर्ने र दीर्घकालसम्म सोचेर व्यवस्थित बनाउनुपर्ने उनले बताए । राम्रोसँग सन्चालन गर्न निजी क्षेत्रलाई पनि दिन सकिने नेता नेपालको भनाइ छ ।

‘जग्गा छ, भवन छ । व्यवस्थापन कस्तो छ ? कति जग्गा व्यापारिक परियोजनमा प्रयोग गर्ने गरिएको छ ? कति त्यसको निम्ति मिहिनेत गरिएको छ ?’ नेपालले भने, ‘यस्ता कुराहरुको अलि लामो समयको कुरा सोचेर व्यवस्थापनका लागि प्राइभेटलाई दिने हो भने प्राइभेटलाई दिनुपर्यो । यो बोझको रुपमा रहनु भएन ।’