सुन्दरी प्रतियोगिता : कमाइ खाने भाँडो

सफल खबर संवाददाता

शनिबार, २० असोज २०७५, १२ : ५५
सुन्दरी प्रतियोगिता : कमाइ खाने भाँडो

काठमाडौँ । भक्तपुरस्थित एल्जी ब्युटी पार्लरकी संचालक हुन् एल्जिना राई ।  २०१७ जुलाई २० मा ‘मिस ब्युटी क्विन २०१७’ को फिनालेमा उनले बेस्ट स्टाइलिस्टको टाइटल जितिन् । उनले त्यहीँ पुगेर आयोजकले प्रतियोगिताका लागि फर्म भराएका थिए । उनलाई भनियो, ‘मिस युटिसियन नेपाल’ हुँदैछ ।’ त्यसैका लागि फर्म भरेकी उनले टाइटल भने मिस ब्युटी क्विनबाट जितिन् । अनौठो लाग्ने गरी एउटा प्रतियोगिताबाट अर्को प्रतियोगिताको टाइटल हासिल गर्दाको घटनाक्रम रोचक छ ।  
‘भाग लिनुस्, फाइदा हुन्छ’ भन्दै ढोकामै आएकालाई सोझै फर्काउन मन लागेन उनलाई । अनि चर्चामा आउने लोभ कसलाई नहोला र ? त्यसमाथि नयाँ कुरा जानिने लोभ पनि । फर्म भरिन् (शुल्क ५ सय रुपैयाँ) त्यसपछि प्रशिक्षण, भ्रमण आदिका लागि भनेर १२ हजार रुपैयाँ पनि बुझाइन् । र, मिस ब्युटिसियन बन्ने सपना देख्न थालिन् ।
उनले कहिले फिल्ड भिजिटको नाममा त कहिले थप प्रशिक्षणको नाममा छुट्टै रकम तिर्ने क्रम जारी रह्यो । ¥याम्पमा यसरी हिँड्ने र यसरी बोल्नेबाहेक केही पनि सिकाएनन् । मलाई त लागेको थियो ट्रेनिङमा धेरै कुरा सिकिनेछ’ केही आक्रोशित हुँदै थपिन्, ‘भाग लिएको १५÷२० जना सबैले एउटा उपाधिबाहेक केही पाएनन् ।’  
उक्त प्रतियोगिताको शीर्ष विजेता मनीषा पाण्डेलाई २५ हजार नगद रुपैयाँ दिने भनिएकोमा १० हजारमात्र दिइएको उनले बताइन् । भनिन्, ‘फर्म भर्दा विजेतालाई उपलब्ध गराउने भनिएको ब्युटिसियन सम्बन्ध तालिमसमेत दिएनन् । बेक्कार दुःख गरेर कमाएको पैसा खर्च भयो ।’
मिसेस ग्लोबल नेपाल, मिसेस नेपाल आइडल, नर्सिङ आइडल, मिसेस नेपाल एसिया प्यासिफिक, ब्युटिसियन नेपाल, मिसेस मंगोल नेपाल, मिस एण्ड मिसेस धादिङ नेपाल, मिसेस ब्युटी क्विन नेपाल, मिसेस हिमालयन नेपाल, क्यापिटल क्विन नेपाल, कोशी क्विन आदि आयोजना गरेका सौन्दर्य प्रतियोगिताका नामहरु हुन् ।
शहर, समुदाय, जात विशेष सौन्दर्य प्रतियोगिताहरु बढ्दो छ । तर, यस्ता कार्यक्रम केही वर्षसम्म निरन्तर हुन्छ त केही सीमित संस्करणपछि सधँैका लागि बन्द । केही भने एकपटक हुन्छ र आयोजकले नयाँ नाम दिएर उस्तै प्रतियोगिता गराउँछन् । नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही भन्छन्, ‘सौन्दर्य प्रतियोगिताको नाममा मौलाएको यस्तो धन्दा रोकिनु पर्छ । आजसम्म यस्ता प्रतियोगिताहरुको नियमन गर्ने निकाय नै छैन ।’ 
प्रतियोगिता र प्रशिक्षणको नाममा १०÷१२ जना जम्मा गरेर सबैलाई टाइटल बाँढ्नु यस्ता आयोजकका विशेषता बनिसकेको छ । ‘यहाँ मनलाग्दी चलेको छ,’ शाही प्रश्न गर्छन्,’ प्रायोजकलाई निर्णायक बनाइन्छ । विषय, क्षेत्रको आवश्यक जानकारी र ज्ञान नभए पनि केही फरक छैन ।’ 
१४ वर्ष यता मिस नेवाः आयोजना गर्दै आएकी हेमा मानन्धर पनि संख्यात्मक रुपमा बढेका सबै सौन्दर्य प्रतियोगिताले गुणस्तर कायम गर्न नसक्ने दावी गर्छिन् । उनी स्वयं पनि मिस नेवाः, मिस लिटिल नेवाः, किड्स क्विन लगायत प्रतियोगिता आयोजक तथा व्यवस्थापक हुन् । भन्छिन्,’ वर्षमा यतिवटा गर्ने भन्ने योजना र यस्तो स्टान्डर्डको गर्ने भन्ने कन्फिडेन्स हुनुपर्छ । त्यस्तै प्रशिक्षण, व्यवस्थापन र अवसर उचित हुन आवश्यक छ ।’
आयोजकको पृष्ठभूमि र व्यवस्थापन टिम नहेरी प्रतियोगितामा सहभागी हुन नहुने उनको तर्क छ । अन्यथा मानसिक तथा शारीरिक हिंसा पर्नसक्ने उनको संकेत थियो । कतिपय आयोजकले सुन्दर सुन्दरी प्रतियोगिता गरेर  कमाइ खाने धन्दा बनाएका छन् । 


 

प्रतिक्रिया दिनुहोस