कालीगण्डकी करिडोरको महभीरमा लगातार पहिरोः जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०८१, १० : ४४
कालीगण्डकी करिडोरको महभीरमा लगातार पहिरोः जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभीर क्षेत्रमा लगातार पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता भएको छ । 

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भीरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभीरमा यसपालिको बर्खामा नयाँ पहिरो सिर्जना भएको बताए । ‘सात–आठ सय मिटरमाथिको भीरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ,’ उनले भने, ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन ।

 

 

पानी पर्नेबित्तिकै भीरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिवार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभीर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ ।

मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभीरको पहिरोमा पुरिएको थियो । यद्यपि त्यसका चालकले भागेर ज्यान जोगाएका थिए । 

 

यसैबीच, महभीर, बैसरी, सिरुवारी, गुइँठेभीरलगायत स्थानमा पहिरोको  जोखिम भएकाले त्यताबाट  यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस