टीआरसीमा भएको सहमतिले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ : मन्त्री चौरसिया

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १६ : ३८
टीआरसीमा भएको सहमतिले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ : मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरूका बिचमा सहमति जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताएका हुन् । उनले दलहरूका बिचमा भएको सहमति अनुरूप आएको विधेयक पीडितमैत्री भएको बताए ।

मन्त्री चौरसियाले विधेयकले पीडितलाई न्याय दिने बताए । उनले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताए । त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताए ।

उनले भने – ‘संक्रमणकालिन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरूलाई यस कार्यदलले सम्बोधन गरेको छ । मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतिपछि पीडितलाई परिपूरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रूप दिने प्रयास गरेको छ । यो विधेयकमा जे–जे सहमति भएको छ, यो पीडितमैत्री छ । यसले पीडितलाई न्याय दिन्छ ।’मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस