नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १५ : ५६
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं। नबिल बैंक र नमस्ते पे वालेटबीच सम्झौता भएको छ । साझेदारीसँगै नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले nBank (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्नेछन् ।नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो ।

 

 

 

बैंकले नयाँ-नयाँ  प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताए ।​

 

'डिजीट़ाइजेसनमा महत्त्वपूर्ण योगदान दिँदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ,’ उनले भने ।नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, 'नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रुपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’

उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।