प्रतिपक्षमा पुगेपछि सङ्गठन निर्माणमा जुट्यो माओवादी, केन्द्रीय कमिटीभन्दा प्रदेशको बैठक अगाडि

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, ११ : ५७
प्रतिपक्षमा पुगेपछि सङ्गठन निर्माणमा जुट्यो माओवादी, केन्द्रीय कमिटीभन्दा प्रदेशको बैठक अगाडि

विराटनगर। सत्ताबाट बाहिरिए लगतै नेकपा माओवादी केन्द्र सङ्गठन निर्माणमा जुटेको छ ।संघदेखि प्रदेश सरकारसम्म नै प्रतिपक्षी बनेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफैं सङ्गठनका निर्माणमा जुटेका हुन् ।

यही क्रममा मंगलबार कोशी प्रदेश कमिटीको बैठकमा नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिन उनी विराटनगर आएका छन् । सोमबार साँझ नै प्रचण्ड विराटनगरमा आइपुगेका हुन् ।यस अगाडि केन्द्रीय कमिटीको बैठकपछि मात्रै केन्द्रको निर्देशन पालना गर्ने गरी बैठक बस्ने गरेको थियो । तर यस पटक भने केन्द्रको बैठकभन्दा अगाडि नै प्रदेश कमिटीको बैठक बसेको हो ।

तल्ला कमिटीहरूले उठाएका एजेन्डाका आधारमा केन्द्रीय कमिटीले निर्णय गर्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य इन्द्र आङ्बोले बताए ।माओवादीमा केन्द्रको भन्दा अगाडि नै प्रदेशको बैठक बसेको यो पहिलोपटक भएको नेताहरूले बताएका छन् । 

 

 

 

 

 

आजको बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला संयोजकले रिपोर्टिङ गर्ने र प्रदेश कमिटीका सदस्यहरूले अध्यक्ष प्रचण्ड र कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेललाई प्रश्न सोध्ने कार्यक्रम रहेको प्रदेश कमिटीका अध्यक्ष हर्क नेम्बाङ (मिक्सो)ले बताए ।

प्रचण्ड र गजुरेलले प्रदेश कमिटीका सदस्यले उठाएका प्रश्नको जवाफ दिएर आजै बैठक सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस