कैलाली । पछिल्लो समय कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि बर्सेनि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।
जिल्लामा व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ । जिल्लामा उत्पादन भएको दूध जिल्लाबाहिर निर्यात हुने गरेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले भने, 'पछिल्लो केही वर्षयता व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।'
कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कानुसार कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/ ८० मा एक सय छ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०८०/८१ मा एक सय ६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
पशुसेवा कार्यालयको गत वर्षको तथ्याङ्कानुसार २२ हजार एक सय ६४ मेट्रिक टन गाईको र ३४ हजार पाँच सय ९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार सात सय ५६ मेट्रिक टन दूध उत्पादन भएको छ ।
दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३ दशमलव १६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लाबाट दैनिक दुई हजारदेखि दुई हजार पाँच सय लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।
जिल्लामा गाई र भैंसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन् । ती फार्ममा एक सय ५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशु सेवा कार्यालयका पुष्प भारतीले बताए। गाईभैँसी फार्मले वार्षिक रूपमा चार करोड ८९ लाख २१ हजार आम्दानी गर्दै आएको उनले बताए।
जिल्लाका विभिन्न ठाउँमा १४ दुग्ध सहकारी, ४४ निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन् । दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक रु १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ ।
कैलाली–कञ्चनपुरबाट सङ्कलित बढी भएको दूध नेपालगञ्ज निर्यात हुँदै आएको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायी बताउँछन् ।
पहिलो र दोस्रो लहरको र कुखुरापालक किसानको सङ्ख्या बढ्दै गएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका योजना अधिकृत पुस्करराज नाथले बताए ।
कैलालीमा अण्डा उत्पादनका लागि ठूलो लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएकाले अण्डा बाहिरबाट आयात गर्नुपरेको छैन । ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्ण रूपमा बन्द भएको निर्देशनालयले जनाएको छ ।
कञ्चनपुरमा झण्डै २५ हजार मेट्रिक टन अण्डा खपत हुने गरेकामा २० हजार मेट्रिक टन अण्डा जिल्लामा उत्पादन भइरहेको छ । कैलाली र कञ्चनपुरले भारतबाट अण्डा आयात गर्नुपर्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’
दूध उत्पादक किसानलाई अनुदान