विदेशी कम्पनीका जहाज मर्मत गरिसकेको बुद्ध एयरको अत्याधुनिक ह्याङ्गर

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १६ : ३७
विदेशी कम्पनीका जहाज मर्मत गरिसकेको बुद्ध एयरको अत्याधुनिक ह्याङ्गर

काठमाडौं।  नेपालका प्रमुख निजी एयरलाइन्स कम्पनीमध्ये बुद्ध एयरले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक ह्याङ्गरको सुविधा प्रदान गरेको छ ।यो ह्याङ्गर एयरलाइन्सको सुरक्षा, मर्मतसम्भार र सञ्चालन दक्षताको अन्तर्राष्ट्रिय मापक रहेको बुद्ध एयरले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अवस्थित यस ह्याङ्गरले अहिलेसम्म स्वदेशी र विदेशी कम्पनीका जहाजहरू पनि मर्मत गरिरहेको छ ।बुद्ध एयरले सन् २०१२ अप्रिल १८ मा नेपालमा पहिलोपटक आफ्नो अत्याधुनिक ह्याङ्गर सुविधा उद्घाटन गरेको थियो ।

यो ह्याङ्गर दक्षिण एशियाकै अत्याधुनिक इन्डोर ह्याङ्गरमध्ये एक रहेको बुद्ध एयरको दाबी छ । यो ह्याङ्गरले ३७ हजार वर्गफुट क्षेत्रफल ओगटेको छ । यसलाई त्यतिबेला २५ लाख अमेरिकी डलरमा निर्माण गरिएको थियो ।यही ह्याङ्गरले पनि यसले बुद्ध एयरलाई नेपालमा एक अग्रणी हवाई सेवा प्रदायकको रूपमा चित्रित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको ह्याङ्गर सेवा प्रदान गर्ने आफू एक मात्र निजी एयरलाइन्स कम्पनी रहेको बुद्ध एयरको दाबी छ ।बुद्ध एयरका अनुसार उक्त ह्याङ्गरमा मर्मत कार्यका लागि अत्याधुनिक उपकरण र सुविधाहरू रहेका छन् । यस ह्याङ्गरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले 'पार्ट १४५' विमान मर्मत संस्थाका रूपमा प्रमाणित गरिदिएको छ ।

यससँगै मर्मतका लागि जहाज विदेश पठाउनु पर्ने आवश्यकतालाई समाप्त गरेको छ । यो सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको छ, जसले गर्दा बुद्ध एयरले आफ्ना र अन्य कम्पनीका जहाजको मर्मत कार्य गुणस्तरीय तरिकाले गर्न सक्छ ।रोचक कुरा के छ भने बुद्ध एयरको यस ह्याङ्गरमा अन्तर्राष्ट्रिय एयरबस कम्पनीको ए३२० या बोइङ कम्पनीका ७३७ विमानसमेत मर्मत हुन सक्छन् ।​

सफलतापूर्वक विदेशी जहाजको मर्मत सम्भार

दुई वर्ष जहाज उडाइसकेपछि गर्नुपर्ने नियमित परीक्षणका लागि बंगलादेशको नोभो एयरले युरोपेली वा अमेरिकी कम्पनी रोजेन ।​ह्याङ्गर स्थापना भएको केही वर्षमै बुद्ध एयरले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको विश्वास जितेको यो पहिलो उदाहरण थियो ।

न त सिंगापुरलगायत दक्षिण पूर्वी एसियाली मुलुकका कम्पनीसँग साझेदारी गर्न चाह्यो । नोभोले एटिआर-७२जहाजको नियमित परीक्षण गराउन रोज्यो नेपाली कम्पनी-बुद्ध एयर ।बुद्धले पनि बंगालादेशी कम्पनीको प्रस्तावलाई स्वीकार्दै त्रिभुवन विमानस्थल हातास्थित आफ्नै अत्याधुनिक ह्याङ्गरबाट परीक्षण र मर्मत सेवा दियो ।

१२ दिनभित्र परीक्षण र मर्मत सक्ने समय सीमा दिइएकोमा सात दिनमै नोभोले जहाज फिर्ता पायो ।​नोभोभन्दा अगाडी भुटानको ड्रुक एयरलबाट यस्तै खाले सेवा लिएको थियो । भुटानबाट ड्रुकले काठमाडौं ल्याएर जहाजको परीक्षण र मर्मत गरायो ।​

नोभो र ड्रुकको पाइला पछ्याउदै बंगलादेशकै हेल्लो एयरले पनि एटिआर-४२ को परीक्षण र मर्मत सम्भारका लागि बुद्धलाई नै रोजिसकेको छ ।परीक्षण र मर्मतका लागि दक्षिण एसियाली मुलुकका विमान कम्पनीको रोजाइले बुद्ध एयरको मर्मत अन्तर्राष्ट्रियस्तरको भइसकेको देखाउँछ ।त्यत्ति मात्र होइन, यसले नेपालमा मर्मतका लागि जहाज ल्याएर मनग्गे विदेशी मुद्रा आर्जनको सम्भावनाको ढोका समेत खोलेको छ ।

कस्तो छ ह्याङ्गर ?

बुद्ध एयरको दाबीअनुसार उक्त ह्याङ्गरमा मल्टीपर्पस कम्प्युटर(MPC) र 9N-AJS विमानमा वेदर रडार मोडल प्रिमस ६६० जस्ता मर्मत कार्यहरू, ATR जहाजको 'C' चेक, १२ वर्षसम्मको निरीक्षण र ३६ हजार साइकल थ्रेसहोल्ड निरीक्षण हुने गर्छ I

त्यस्तै उक्त ह्याङ्गरमा अन्तर्राष्ट्रिय स्तरका भण्डारण पनि छ । त्यहाँ अहिले ९३ लाख डलर बराबरको जहाज स्पेयर पार्ट्स पनि उपलब्ध छन् ।बुद्ध एयरका जम्मा कर्मचारीमध्ये ६० प्रतिशत उक्त ह्याङ्गरमा काम गरिरहेका छन् ।

उक्त ह्याङ्गरको भूँइतलामा करीब ८ हजार वर्ग फिट क्षेत्रफलमा कार्यशाला, प्राविधिक स्टोर र बेस मर्मत कार्यालय रहेका छन् ।त्यस्तै पहिलो तल्लामा पूर्ण सुविधासम्पन्न प्राविधिक र सञ्चालन विभागहरू, १६ जनाका लागि बैठक कोठा, र ६ हजार वर्ग फिट क्षेत्रफलमा केन्द्रीय सर्भर कार्यालय रहेको छ ।

ह्याङ्गरको दोस्रो तल्लामा ४८ जनाले जुनसुकै समयमा खाना खान सक्ने इन-हाउस क्यान्टिन, १६ जनाका लागि एक बैठक कोठा, ४५ जनाका लागि एक ट्रेनिङ कक्ष,सञ्चालन र प्राविधिक विभागका लागि पुस्तकालय र प्राविधिकहरूले रातको मर्मत हुँदा आराम गर्न सक्ने ठाउँ छ ।ग्राउन्ड ह्याण्डलिङ, सुरक्षा, मानव संसाधन र सामान्य सेवा कार्यालयहरू पनि यहाँ अवस्थित छन् ।

उक्त ह्याङ्गरले सन् २०१४ को ७ अक्टोबरमा आइपीएमए को उत्कृष्ट पुरस्कार जितेको थियो ।साथै उक्त ह्याङ्गरलाई बंगलादेश नागरिक उड्डयन प्राधिकरणले समेत उत्कृष्ट भन्दै आफ्ना जहाजहरू मर्मत गराइरहेको छ ।सन् २०१८ को अगस्त १० मा उक्त ह्याङ्गरमा यती एयरलाइन्ससँग रहेका एटीआर फ्लीटको मर्मतसमेत सञ्चालन गरिएको थियो ।बुद्ध एयरले बढ्दो जहाजको संख्या समायोजन गर्न र नयाँ जहाजका मोडेल समावेश गर्न आफ्नो ह्याङ्गर सुविधा बिस्तार र अपग्रेड गर्ने योजना बनाएको छ ।