घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् ।
उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।
मेहनत गर्नसके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहेका घर्तीले भने, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपथ्र्यो । तर व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताउछन् ।
घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक रु एक लाख बढी आम्दानी भइरहेको बताउछन् । उनका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भैँसीमध्ये चार वटा भैँसीले दूध दिने र त्यहीबाट महिनामा एक लाख बढी कमाई गर्दै आएको घर्ती बताउछन् । उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उनले भने, “उत्पादन गरेको दूध बिक्रीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५÷५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उनले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताए ।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउछन् । उनका अनुसार दूध ७० रुपैयाँ लिटर बिक्री हुने गर्दछ । दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउछन् । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहेको उनी बताउछन् ।
अहिले दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भने, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ ।”
व्यावसायिक रुपमा दूध, मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब रु डेढ करोडसम्म लगानी भइसकेको छ । उनहरुले कृषि फार्ममा तीन जनालाई रोजगारी दिएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका व्यावसायिक घाँसखेती गरिएको उनी बताउछन्। उनहरु जस्तै जिल्लामा पछिल्लो समय पशुपालन व्यवसायमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई पालिकामा दूध ‘जोन’
दूध उत्पादक किसानलाई अनुदान
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
दूध उत्पादक किसानलाई तीन करोड अनुदान
कैलाली दूध उत्पादनमा आत्मनिर्भर
साउन १५ गते देशभरि ९० लाख लिटर दूध खपत