मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन अनुमति दिन सचिवकै मरिहत्ते

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, ०८ : ४६
मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन अनुमति दिन सचिवकै मरिहत्ते

काठमाडौँ । मापदण्ड नपुगेका मेडिकल कलेजहरूलार्इ अस्पताल सञ्चालनको अनुमति दिन स्वास्थ्य सचिव नै मरिहत्ते गरेर लागिपरेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आर्थिक प्रभावमा परेर सचिव डा. पुष्पा चौधरीले घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज प्रा.लि.लाई ३०० शैयाको अस्पताल सञ्चालन गर्नका लागि अनुमति दिन लागिपरेकी छन् ।

स्वास्थ्य सचिव डा चौधरीको कडा दवाबका बिच मंगलबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले काठमाडौँ नेशनल मेडिकल कलेजलाई अहिलेकै अवस्थामा अस्पताल चलाउन स्वीकृति दिन नसकिने भन्दै एक पत्र नै काटेपछि मन्त्रालय भित्र हल्लीखल्ली नै मच्चिएको छ । मन्त्रालयको उच्च स्रोतकाअनुसार स्वास्थ्य सचिव डा. चौधरी नै स्वीकृति दिन लागिपरेको अवस्थामा महाशाखाले काटेको पत्रबाट मन्त्रालयमा खैलाबैला मच्चिएको हो ।

गुणस्तर मापन तथा नियमन महाशाखाले नेशनल मेडिकल कलेजले ३०० शैयाको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरेपनि आवश्यक पूर्वाधार पूरा नभएकाले अहिलेकै अवस्थामा संचालन स्वीकृति दिन नसकिने महासाखाका अधिकारीहरूले राखेका थिए । 

नियमन महाशाखाका प्रमुख डाक्टर दिपेन्द्र रमण सिंहका अनुसार निवेदकको माग बमोजिम स्वीकृति दिन मिल्ने वा नमिल्ने सम्बन्धमा स्थलगत निरीक्षण गर्न अनुगमन समिति गठन गरिएको थियो । जसअनुसार समितिले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७० ९दोस्रो संशोधन २०७३० बमोजिम ३०० शैयाको अस्पताल सञ्चालन गर्न चाहिने पूर्वाधार, अस्पताल भवनको नक्सा डिजाइन, राष्ट्रिय भवन सँंंहिताको मापदण्ड बमोजिम भवन निर्माण भएको स्वीकृत पत्र, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत पत्र, भवन निर्माण सम्पन्न पत्र, प्याथोलोजी ,रेडियोलोजी, तथा जनशक्ति र अन्य पूर्वाधार पूरा भएपछिमात्रै स्वीकृतिको प्रक्रिया अघि बढाउन सकिने समितिले प्रतिवेदन बुझाएको छ ।

कलेजले भने स्वास्थ्य मन्त्रालयमा सबै पूर्वाधार मापदण्ड अनुसार नै पुरागरिसकेको झुटो प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर स्वास्थ्य सचिव डा. चौधरी हाल ४५ शैया रहेको काठमाडौँ नेशनल कलेजलाई  ३०० शैयामा अस्पताल संचालनको लागि अनुमति दिन ज्यानफालेर लागिपरेकी छन । तर महाशाखाले भने समितिले औंल्याएका प्रतिवेदनलाई टेकेर मात्रै स्वीकृति दिन सकिने जानकारी कलेजलाई गराएको छ । मन्त्रालयमा आएको प्रतिवेदनमा अन्यौलता भएको कारण नयाँ प्रतिवेदन बुझाउन पनि अस्पताल प्रशासनलाई जानकारी गराएको बताइएको छ ।


यस विषयमा स्वास्थ्य सचिव चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहिनन् । मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले भने अहिलेसम्म कलेजलाई स्वीकृति नदिएको सफलखबर संवाददाता सँग दाबी गरे । स्वीकृति लिनको लागि यस्तो मापदण्ड हुनुपर्ने छ भनेर पत्रमार्फत जानकारी गराएको कुरालाई मिडियाले गलत तरिकाले प्रचार गरेको उनको भनाई थियो । 

काठमाडौँ नेशनल मेडिकल कलेजलाई ३ सय शैयाको स्वीकृत दिने लबिङमा लागेकी स्वास्थ्य सचिव डा. चौधरी यसअघि कर्मचारीको सरुवा, बढुवामा विवादमा तानिएकी थिइन् । असोज १६ गते बसेको  संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य मन्त्रालय मातहतको सरुवा बढुवामा आर्थिक चलखेल भएको भन्दै प्रश्न उठाएका थिए । यतिबेला स्वास्थ्य सचिव देखि मातहातका उच्च अधिकारीहरू कर्मचारी सरूवा, मन्त्रालय मतहातका निकायहरूमा नियूक्ति, मपदण्ड नपुगेका अस्पलालहरूको संचालन अनुमती, उपकरण खरिद र औषधी खरिदमा समेत कमिसनको बार्गेनिडंग गर्नमा व्यस्त छन् ।स्रोतका अनुसार यस्ता काम गर्न  यस सम्बन्धी सप्लार्यस हरूलार्इ अगाडी सारिएको छ । मन्त्रालयमा यस्तो बेथिति हुदा मन्त्री उपेन्द्र यादव भने नदेखेको नाटक गरेर बसिरहेका छन् ।मन्त्रीको मौनताले सचिवसँग मन्त्रीको मिलेमतो छ भन्ने मन्त्रातयमै चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस