सिङ्गापुर र अमेरिकाबिच गैरसैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १३ : २०
सिङ्गापुर र अमेरिकाबिच गैरसैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

सिंगापुर । संयुक्तराज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।  एसिया भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता संयुक्तराज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ । यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु उर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ,” सम्झौतापछि दुवै देशका प्रतिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्षेत्रीय वित्तीय केन्द्र र विश्वव्यापी सेमिकन्डक्टर उद्योगको एक प्रमुख उत्पादक सिङ्गापुर हाल तेल र प्राकृतिक ग्यासमा भने निर्भर छ ।  यसले सन् २०५०  सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न परमाणु उर्जासहितका विकल्पहरूको अध्ययन गरिरहेको छ ।

अमेरिकी संसद्ले समीक्षा गरेपछि सन् २०२४ को अन्त्यसम्ममा यो सम्झौता लागु हुने अपेक्षा गरिएको छ ।“यो सम्झौता ३० वर्षसम्म चल्नेछ र सिङ्गापुरलाई अमेरिकी ऊर्जा प्रविधि र निर्यात नियन्त्रणमा रहेको विशेषज्ञताबारे विस्तृत जानकारीको पहुँचमा सहजीकरण गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

“यो सम्झौतापश्चात सिङ्गापुर पनि अमेरिकी विदेश विभागको कार्यक्रममा सामेल हुनेछ जसले साझेदारहरूलाई थप उन्नत परमाणु ऊर्जा प्रविधिबारे बुझ्न सक्षम बनाउँछ ।”

वासिङ्टनले चीन, इन्डोनेसिया, फिलिपिन्स र भियतनामलगायत २२ वटा  देशका साथै युरोपेली आणविक ऊर्जा समुदाय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी गरी दुई संस्थाहरूसँग सक्रिय ‘१२३ सम्झौता’ गरेको छ । 

प्रतिक्रिया दिनुहोस