राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १४ : ४६
राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएको हो ।​

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नम्बर ३ तिल्केनी चौरसम्म जोड्ने सुरुङ जोडिएको  आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रू’ गरिएको आयोजनाले जनाएको छ ।​

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नम्बर २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रुपमा ‘स्विच’ थिचेर विस्फोट गराई ‘ब्रेक थ्रू’ गरेका हुन् । 

अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरुङ निर्माण भएको हो ।गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकामा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवं समन्वय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस