काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले २०८१ असार २० गते दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।सर्वोच्चले तत्कालीन समयमा साउन १३ गतेका लागि फैसला सुनाउने मिति तय गरेको थियो ।
त्यसका लागि असार २१ गतेसम्म बहसनोट पेश गर्न सर्वोच्चले सरकार र विपक्षी कानुन व्यवसायीको नाममा आदेश जारी गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो ।
जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो।
सर्वोच्चले आइतबार उक्त मुद्दा मिले नमिलेको बारेमा निर्णय दिने छ । सर्वोच्चले दोषी ठहर गरेमा उनी उक्त अवधि थुनामा बस्नु पर्ने छ भने तोकिएको सम्पत्ति जफत हुनुका साथै बिगो र जरिवाना बुझाउनुपर्ने छ । यदि सफाइ दिएमा उनले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १५ : ३५
लेखकबाट थप