संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता हुँदैन : प्रकाशशरण महत

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०८१, १२ : ४३
संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता हुँदैन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् । 

उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरू रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई  प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गर्ने बताए । उनले वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने बताए । उनले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए । 

उनले भने, ‘संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरू मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभूत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्प्रमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ बेटर उपायहरू छन् । अझ राम्रो तरिकाहरू छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौती गर्ने होइन । तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरू छन् । महिलाहरूको एक तिहाइ सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसङ्ख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरू वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सक्छौँ ।’

उनले परिस्थितिका कारण दुई ठुला पार्टी एक ठाउँमा हुन परेको बताए । समाजवाद, लोकतन्त्र, कानुनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउँदै महतले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिस्पर्धी पार्टी पनि हौँ । त्यस अर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दैछौँ । समाजवादको कुरा गर्दैछौँ, लोकतन्त्रको कुरा गर्दैछौँ, यो कानुनी शासनको हरेक मुद्दामा नेपाली काँग्रेसले अक्षरशः कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्ति भन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ । सात बुँदेमा पनि देखिएको छ । पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठुलो चुनौती छ । तर आवश्यकता हो । त्यसको बिचमा काम गरिरहेका छौँ ।’