बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्‍यो एडभाइजरी

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १६ : १०
बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्‍यो एडभाइजरी

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । हालै मात्र त्यहाँ हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भयो ।

बङ्गलादेशमा जारी विरोध प्रदर्शनलाई दृष्टिगत गरेर ढाकास्थित भारतीय उच्चायोगले त्यहाँ बस्ने भारतीयहरूका लागि एडभाइजरी जारी गरेको छ । एडभाइजरीमा भारतीयहरूलाई यात्रा नगर्न र आफू बस्ने गरेको भवनको परिसरबाट सकेसम्म कम बाहिर निस्कन सल्लाह दिइएको छ ।

आपतकालीन स्थिति उत्पन्न भयो भने उच्चायोग र सहायक उच्चायोगसँग सम्पर्क गर्न सल्लाह पनि दिइएको छ । उच्चायोगले यस सम्बन्धमा आपत्कालीन नम्बरहरू समेत जारी गरेको छ ।

विगत केही दिनदेखि बङ्गलादेशमा विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको चर्को विरोध प्रदर्शन गरिरहेका छन् ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई बङ्गलादेशमा ‘युद्ध नायक’ भन्ने गरिएको छ । देशको एक तिहाइ सरकारी जागिरमा यी युद्ध नायकका सन्तानका लागि आरक्षणको व्यवस्था गरिएको छ ।