बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १३ : २९
बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी

वीरगन्ज । मधेस सरकारले चालू आर्थिक वर्ष सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् ।  मुख्यमन्त्री सिंहले २ साउन २ गतेदेखि सरकारको बजेट खर्च गर्न अख्तियारी दिएका छन् ।

मन्त्रालयका कर्मचारी तथा प्रमुखहरूलाई १०/११ पेजको गाइड लाइनसहित काम गर्न अख्तियारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कुराकानी गर्दै मुख्यमन्त्री सिंहले समयमा विकास निर्माण गर्नका लागि आफ्नो नेतृत्वको सरकारले बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको जानकारी दिए । 

उनका अनुसार सुशासनका लागि बजेट खर्चको गर्न अख्तियारी दिइएको हो । बजेट खर्चको अख्तियारी समयमै नदिँदा विकास निर्माणसहितका काम गर्दा व्यापक गुनासाहरू आउने गरेको उनले सुनाए ।  यो पटक सबै प्रक्रिया चाँडै पूरा गरेर समयमै अख्तियारी प्रदान गरिएको समेत उनले बताए  ।

उनले भने, ‘जनताको गुनासा मात्रै होइन, यो वास्तविक विषय पनि हो । ढिलो गरी अख्तियारी जाँदा कर्मचारीहरूले काम गर्न पाउँदैनथे । अख्तियारी आएको छैन भन्दै पन्छिने काम हुन्थ्यो । त्यसकारण जनताको मर्म र भावना अनुसार यो पटक आर्थिक वर्ष सुरु भएसँगै काम गर्ने अख्तियारी प्रदान गरिएको हो ।’

यो पटक कुनै पनि कर्मचारीलाई जनताको सेवामा हेलचेक्र्याइँ गर्ने छुट नभएको उनको भनाइ छ । सरकारले अख्तियारी प्रदान गर्नका लागि साउन १ गते अर्थ विधेयक राजपत्रमा प्रकाशित गरेको थियो भने २ गते विनियोजन विधेयक प्रकाशित गरेको थियो । 

यी दुईवटै विधेयक प्रकाशित भएसँगै प्रदेश सरकारले ल्याएको बजेटमा आजदेखि काम सुरु हुने भएको छ । यस अघिका सरकारले आश्विन पछि बजेट रकम खर्च गर्न  अख्तियारी दिने गरेको रेकर्ड छ ।

अघिल्लो वर्ष प्रदेश सरकारले आश्विनदेखि बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको थियो । तर अहिले भने सरकारले २ महिना अगाडि नै सबै मन्त्रालय तथा सम्बन्धित विभागीय प्रमुखलाई बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ४३ अर्बभन्दा बढीको बजेट ल्याएको छ ।