मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १४ : ३४
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस

जनकपुरधाम । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ ।

जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित प्रभातफेरिमा मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभाहलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको बताए । संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको उनको भनाइ छ ।

संघीयता आइसकेपछि गाउँगाउँमा विकासका कामहरू अघि बढेको उनले तर्क गरे । मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन सकिने भन्दै, संविधानमा रहेका असहमतिहरूको सार्थक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूलाई संस्थागत गर्दै परिमार्जन गरी जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डललगायत केही मन्त्रीहरु सहभागी थिए ।

मधेश सरकारले यसअघि संविधान दिवस मनाएको थिएन । साढे ६ वर्षसम्म जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहँदा नमनाइएको संविधान दिवस जसपा नेपाल सरकारबाट बाहिरिएपछि मनाइएको हो ।