युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, ११ : ३१
युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा नितु श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायी नितु श्रेष्ठ नियुक्त भएकी छिन् । काठमाडौंमा मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा उनलाई अध्यक्ष नियुक्त गरिएको हो । मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ नियुक्त भएका छन् ।

मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्य समितिको अवधि एक वर्षको हुने व्यवस्था छ । 

च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकाल नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रुपमा रहेका छन् ।  

नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरहरुसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन् ।

महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी विभिन्न उद्योगमा संलग्न सदस्यलाई एकै ठाउँमा ल्याउने र फरक व्यावसायिक क्षेत्रबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठको योजना छ । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले महिलालाई नेतृत्वमा अगाडि सारेको भन्दै च्याप्टर नेतृत्व र सदस्यहरुको सराहना गरे । उनले देश बनाउने उद्यमीले नै भएकोले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न सुझाए । 

तुलनात्मक लाभका क्षेत्रमा व्यवसाय गर्नुपर्नेमा जोड दिएका उनले खेलकुदमा पनि राम्रो व्यवसायको सम्भावना रहेको बताए । नेपालका रमणीय गल्फ कोर्समा दक्षिण कोरियाली खेलाडी ल्याएर प्रतियोगिता गर्न सकिने उनले बताए ।च्याप्टरका नवनियुक्त प्रथम उपाध्यक्ष एल्भिस रन्जितले स्वागत मन्तव्यका क्रममा सन् २०२१ मा १५ सदस्यबाट सुरु भएकोमा अहिले सदस्य संख्या ९० पुगेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस