खानेपानीमा ‘इकोली’ जीवाणु

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, ११ : ०४
खानेपानीमा ‘इकोली’ जीवाणु

काठमाडौँ । पाल्पा र रुकुमपूर्वका नागरिकले दैनिक प्रयोग गर्ने पिउने पानीको गुणस्तर कमजोर भएको पाइएको छ । विभिन्न पालिकामा सञ्चालित खानेपानी योजनाको नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो । पाल्पाका विभिन्न पालिकामा सञ्चालित ५२ वटा खानेपानी योजनाको ११४ वटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो । सदरमुकाम तानसेनका ५, रामपुरका १०, पूर्वखोलाका ६, निस्दीका ४, रम्भाका ७, बगनासकालीका ५ वटा खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो ।

तिनाउका ६, माथागढीका २, रैनादेवी छहराका ४, रिब्दीकोटका ३ वटा खानेपानी योजनाको मुहानमै पानीको गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ५२ वटा योजनामा गरिएको परीक्षणमा २० वटा खानेपानी योजनाको पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।

पानीमा रहेको टर्बिडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पिएच र इकोलीको जाँच गर्दा यस्तो फेला पारेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केहीको मूल (स्रोत) मै पानी दूषित भएको पाइएको छ भने केहीको बिच भागमा पाइप फुटेर पानी दूषित भएको पाइएको छ ।

यसै गरी रुकुमपूर्वका अधिकांश स्थानीय बासिन्दाले पनि ‘इकोली’ जीवाणु मिसिएको पानी पिउन बाध्य भएको एक अध्ययनले देखाएको छ । जिल्लाका हाल प्रयोग भइरहेकामध्ये अधिकांश स्रोतको पानी पिउन अयोग्य रहेको अध्ययनको निष्कर्ष छ ।

भुमे र सिस्ने गाउँपालिकाका ३२ वटा ठाउँको खानेपानी परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ । परीक्षण गरिएकामध्येमा ६५ प्रतिशत ठाउँको पानीमा इकोली जीवाणु भेटिएको छ । कार्यालयका अनुसार खानेपानीको मुहान, ट्याङ्की, धारामा आएको पानीको नमुना परीक्षणका क्रममा २२ ठाउँको पानीमा इकोली पुष्टि भएको हो । 

भौतिक संरचना लथालिङ्ग र कमजोर अवस्थामा निर्माण गरिएका ठाउँका खानेपानी योजनामा इकोली जीवाणु भेटिएको हो । खानेपानीका योजना निर्माण गर्दा निर्माण उपभोक्ता समिति र ठेकेदारले मापदण्ड अनुसार खाने पानीको संरचना निर्माण गर्न नसक्दा उपभोक्ता दूषित पानी पिउन बाध्य भएका हुन् । 

इकोली जीवाणु मानिसको दिसा, बङ्गुरलगायत घरपालुवा जनावरको दिसा पिसाबमा भेटिने जीवाणु हो । यसले हैजा, आउँ, झाडापखाला, पानीजन्य अन्य रोग टाइफाइड, पेट, टाउको दुख्ने जस्ता रोग लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस