म्याग्दी। मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ ।गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए ।
'मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ,' उनले भने ।घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ ।
मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ ।बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ ।
घासापारिको कालीगण्डकी तीरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो । थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाँफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ ।
रु १० लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । रु १० लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ ।
रु १०/१० लाख बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु दुई करोड १५ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङको सौन्दर्य चित्रमा
नौ महिनामा मुस्ताङमा १ लाख पर्यटक
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो