जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ११ : ४१
जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।  चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए । टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ । क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए। 

जेलर आवास गृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए । उनले भने, “जेलरले २४ सैँ घण्टा बस्नुपर्ने भए पनि आवास गृह छैन, छुट्टै भेटघाट कक्ष छैन, सुरक्षा ब्यारेक बनेको छैन । यसले सुरक्षा चुनौती थपिएको छ ।”

कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदी बन्दी सामान्य बिरामी हुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताए । उनले भने, “स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौँ रेफर गर्छौँ । स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ ।”

केन्द्रबाट अनुगमनमा निकाय आउने पदाधिकारीलाई समस्याबारे ज्ञात भए पनि समाधान भने भएको छैन । विस २०४० मा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताए ।