जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना

मंगलबार, १६ असोज २०७५, १९ : ३८
जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना

जनकपुरधाम ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताउनुभएको छ । 

महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा उहाँले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । मुख्यमन्त्री राउतले स्वच्छता गैरसरकारी संस्थाको कागजमा मात्र नभई व्यवहारमा स्वच्छताको खाँचो छ भन्नुभयो । 

महात्मा गान्धी विश्वात्मा भएको बताउँदै उहाँले गान्धीको स्वेच्छता अभियान इमान्दारिता र आचरणसँग सम्बन्धित भएको प्रसङ्ग उल्लेख गर्नुभयो । 

गान्धीको जीवन नै विचार र आदर्श हो भन्दै मुख्यमन्त्री राउतले गान्धी एउटा व्यक्ति, दर्शन, विचार नभई जीवन जिउने तरिका भएकाले यसलाई सबैले जीवनमा आत्मसात् गर्नु जरूरी भएको उल्लेख गर्नुभयो । 

प्रदेशसभा सदस्य रामआशीष यादवले गान्धीको दर्शन गीताभन्दा पनि बहुमूल्य रहेको भन्दै कर्म र ज्ञानको प्रधानता रहेको गान्धीको दर्शनले स्वयंमा पनि परिवर्तनको आवश्यकतामा जोड दिनुभयो । 

प्रदेशसभा सदस्य चमेली दास र प्राध्यापक डा भागेन्द्र झाले गान्धीको दर्शन मानवकल्याणका लागि केन्द्रित रहेको धारणा राख्नुभयो । (रासस)

समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको सो गोष्ठीमा भारतीय दूतावासका डेप्युटी चिफ अफ मिशन डा अजयकुमारले गान्धीभित्र प्रबल शक्ति भएको चर्चा गर्दै गान्धी अनुरूपको स्वच्छता र स्वतन्त्रताका सन्दर्भमा समाजको सोचमा व्यापक परिवर्तनको खाँचो औँल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस