काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको हेडबक्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउन सक्ने बताएका हुन् ।
२०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेडबक्स क्षति गरेको थियो । त्यसयता हेडबक्सको मर्मतसम्भारको काम भइरहेको छ । वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्द गरिएको छ ।
बैठकमा बोल्दै सचिव आचार्यले काठमाडौँमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेडबक्स सार्नुपर्ने अवस्था रहेको बताए । उनले साबिककै हेडबक्सबाट वर्षात्को समयमा पानी खुवाउन नसकिने स्पष्ट पारे । उनले एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिए ।
त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडबक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताए । उनले हेडबक्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराए ।
उनले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौँ पठाइरहेको अवस्थामा वर्षात्को समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षात्को समयमा पानी नपठाइएको बताए । उनले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौँ पठाइने बताए ।
त्यस्तै बैठकमा बोल्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौँ उपत्यकामा पानी वितरण गरिएको जानकारी दिए । पौडेलले वर्षात्को समयमा स्थानीय स्रोतहरुबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो
मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने