राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ११ : ४९
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोधन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ प्रशोधन गर्ने भएको हो ।

बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोधन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोधन गर्दै आएको छ ।असार १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६३ खर्ब ३५ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ४९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

समीक्षा अवधिमा ७९.१८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग हाल ६ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.१९ प्रतिशतमा खुम्चिएको छ ।

जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोधन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् ।