निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, १९ : ११
निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जा सचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताए । उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाएका छन् ।

मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्वपूर्ण योगदान रहेको बताए । उनले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पारे ।

मन्त्री बस्नेतले उमेर हदका कारण निजामती सेवाबाट अवकाश भए पनि उहाँको योग्यता, क्षमता र विज्ञता मुलुकले प्राप्त गर्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले खादा माला र मायाको चिनो दिएर सचिव तिवारीको बिदाइ गरे ।

सो अवसरमा सचिव तिवारीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाउँदै सक्रियता र जनउत्तरदायी कर्तव्यले  सरकारी कर्मचारीलाई सफल बनाउने बताए । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले सेवानिवृत्त भए पनि सक्रिय जीवनमा रहन र आफ्नो क्षमता र विज्ञताको उपयोग गर्न आग्रह गरे । कार्यक्रममा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस