नुवाकोटमा सबैभन्दा धेरै कर तिर्ने १३ जना करदाता सम्मानित

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १३ : २६
नुवाकोटमा सबैभन्दा धेरै कर तिर्ने १३ जना करदाता सम्मानित

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले सबैभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रुपमा सम्मान गरेको छ ।शुक्रबारदेखि शुरू भएको विदुरको १५औं नगर सभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एक जनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।​​

सभाध्यक्ष एवं नगरप्रमुख राजन श्रेष्ठका अनुसार पालिकामा रहेका १३ वडाबाट सबैभन्दा बढी कर बुझाउने १३ जना व्यवसायीलाई सम्मान गरिएको हो ।सम्मानित हुनेमा वडा नम्बर १ बाट किरण खतिवडा, २ बाट भुवनलाल राजभण्डारी, ३ बाट मङ्गले श्रेष्ठ, ४ बाट भगवानराज श्रेष्ठ, ५ बाट मनमैजु इन्डस्ट्रिज प्रालि, ६ बाट सरस्वती धिताल लामिछाने र ७ बाट भैरवबहादुर भण्डारी छन्।

वडा नम्बर ८ देखि १३ बाट क्रमशः शिवप्रसाद अधिकारी, जितेन्द्रमान श्रेष्ठ, प्रकाश खतिवडा, निलप्रसाद चालिसे, अर्जुनप्रसाद रिमाल र अम्बरबहादुर तामाङ सम्मानित भएका नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

विदुरले करको आकार बढाउने भन्दा दायरा बढाउँदै करदातालाई आकर्षित गर्ने र आन्तरिक श्रोत बढाउने लक्ष्य अनुरूप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिने नगर उपप्रमुख प्रभा बोगटीले बताइन् ।

शुक्रबारदेखि शुरू भएको नगरको अधिवेशनले नीति तथा कार्यक्रमलाई संशोधनसहित पास गरिसकेको छ ।रु एक अर्ब ११ करोड हाराहारीको अनुमानित बजेटमाथिको छलफल जारी रहेको उपप्रमुख बोगटीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस