तीन दलले टुङ्ग्याए राजदूतमा भागबण्डा

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, २१ : ०९
तीन दलले टुङ्ग्याए राजदूतमा भागबण्डा

काठमाडौँ । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुङ्गो लगाएका छन् । बिहीबार साँझ सिंहदरवारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुङ्ग्याएको हो ।

२४ जेठमा मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने बताइएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरू फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको जनाइएको छ । बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुङ्ग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस