सहकारी संसदीय छानबिन समितिले सुरू गर्‍यो कानूनी परामर्श

सफल खबर संवाददाता

बुधबार, ०५ असार २०८१, १४ : ४८
सहकारी संसदीय छानबिन समितिले सुरू गर्‍यो कानूनी परामर्श

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले कानूनी परामर्श सुरू गरेको छ । बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानविन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरेको बताए ।

उनले कानूनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतका प्रश्नमा छलफल भएको सुनाए । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको क्षेत्रीले बताए ।

उनले भने, ‘आज उहाँहरूसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानूनी प्रवन्धहरूलगायतका विषयमा छलफल गरेका छौं । समितिले उहाँहरूसँगको छलफलबाट लाभान्वित भएको महसुस गरेको छ । अर्को बैठक १० गते बस्नेछ ।’ आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि उनले सुनाए । उक्त समितिलाई २९ वटा समस्याग्रस्त सहकारीमाथि छानबिनको कार्यादेश रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस