विश्व बैंक अन्तर्गतको आईडीए बैठक सुरु, २०० देशका प्रतिनिधि नेपालमा

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, १० : ४०
विश्व बैंक अन्तर्गतको आईडीए बैठक सुरु, २०० देशका प्रतिनिधि नेपालमा

काठमाडौँ । आजदेखि काठमाडौंमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो ।

यो बैठकमा सहभागीताका लागि विश्वभरका २०० भन्दा बढी देशका प्रतिनिधि काठमाडौंमा आउनेछन् । यही बैठकका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आइसकेका छन् ।

आज विहानदेखि सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । प्रत्येक ३ वर्षमा आयोजना हुने आईडीएको यो तेस्रो बैठक हो । यसअघि जापानमा बैठक बसेको थियो । यो बैठकले आगामी ३ वर्षसम्मका लागि विश्वभरका न्यून आय भएका मुलुकको विकास सहायतामा लिने नीति तय गर्नेछ ।

सो अवधिसम्म न्यून आय भएका मुलुकको विकासमा लिने ढाँचा, नीति र प्राथमिक्ता तथा सहुलियतपूर्ण ऋणको नीति बैठकले बनाउने छ । आजदेखि सुरु भएको यो बैठक जुन २१ सम्म चल्नेछ । यो नेपालमा मात्रै नभई दक्षिण एसियाली क्षेत्रमा नै आयोजित ठूलो बैठक हो ।

बैठकका लागि आएका विश्व बैंकका प्रतिनिधिहरु नेपाल बसाईक्रममा विश्व बैंकको सहयोग र सहुलियतपूर्ण ऋणमा निर्माणाधीन अवस्थामा रहेका आयोजनाको अनुगमन समेत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस