मधेशमा मुख्यमन्त्री लिने प्रस्ताव स्वीकारेनौं : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १५ : २०
मधेशमा मुख्यमन्त्री लिने प्रस्ताव स्वीकारेनौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै उनले कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले प्रस्ताव अस्वीकार गरेको बताए ।

‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौं’, उनले भने, ‘परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।’

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन् ।अध्यक्ष नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका सकारात्मक रहेको बताए । ‘कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौं । उहाँले मधेश प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, वागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो । उहाँले खेलेको भूमिका पोजेटिभ छ’, उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफूले सकारात्मक हुन आग्रह गरेको नेता नेपालले बताए । ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन’, उनले भने ।

नेता नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले विभिन्न दलहरुलाई समेटेर मोर्चा भने बनाउन सकिने बताए । ‘समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस