भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १५ : ०४
भारतीय नागरिकको घाँटी रेटेर हत्या, रौतहटमा शव बरामद

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा  शव फेला परेको हो ।

घटना प्रकृति अनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारीको नाम ठेगाना बताइएको छ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन्। मृतकको शवको केही पर सिजे ०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ।

उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको हो वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालेको हो भन्ने खुल्न सकेको छैन। हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।