अध्यक्ष ओलीको बदनाम गर्न खोजियो, गिरीबन्धुको छानबिनका लागि तयार छौं: एमाले

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १२ : ५४
अध्यक्ष ओलीको बदनाम गर्न खोजियो, गिरीबन्धुको छानबिनका लागि तयार छौं: एमाले

काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी–स्टेटको जग्गामा अनियमितता गर्न खोजेको भनेर पार्टी र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएको छ ।

गिरीबन्धुलगायत सबै प्रकरणको छानबिन गर्न एमालेले चुनौती दिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशअनुसार कानून बनाइएको विषयलाई लिएर ओलीमाथि कांग्रेसले आरोप लगाएको भन्दै आपत्ति जनाएका हुन् ।

 

हाम्रो पार्टीका अध्यक्षलाई लक्षित गरेर यो संसद्मा पशुपतिमा जलहरिको कुरा उठ्यो, अन्तिममा टाइँटाइँ फिस भयो । आज गिरीबन्धुको कुरा उठाइएको छ ।

सर्वोच्चको आदेशअनुसार यही संसद्बाट कानून बनाउँदा कांग्रेसको संशोधन थिएन,’ योगेशले भने, ‘कानून कार्यान्वयनका क्रममा केही कमजोरी भयो, पार्टी र अध्यक्षमाथि आरोप लगाउने षड्यन्त्र भएको छ ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई ‘सहकारी बन्धु’ भन्दै गिरीबन्धु टी–स्टेट अनियमितताको छानबिन गर्नुपर्ने बताएका थिए ।

दायाँबाँया भ्रष्टाचारका दागी राखेर बैठक गरेको कांग्रेसले एमालेमाथि प्रश्न उठाएको भन्दै योगेशले आपत्ति जनाए । ‘२०४६ पछाडिका सबै काण्डको  छानबिनका लागि एमाले तयार छ । प्रत्येक कुराको छानबिनका लागि उभिन तयार छ।

चारतारे झण्डा बोक्ने होस् कि कम्युनिस्ट झण्डा बोक्ने, घण्टी बजाउने होस् कि हलो बोक्ने, अपराधमा कसैलाई छुट छैन । प्रत्येक छानबिनका लागि तयार छौं । तमाम विषयमा छानबिन समिति बनाऔं, सामना गर्न एमाले तयार छ ।’

कांग्रेसका तर्फबाट सभामुखविरुद्ध महाभियोगको स्वर सुनिएको भन्दै संख्याको धम्की दिने काम नगर्न उनले चेतावनी दिए । 

‘सभामुखलाई महाभियोगको चर्चा आयो, यसअघि सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्की र चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाइयो । त्यो प्रमाणित भयो ? अहिले महाभियोगको धम्की दिइएको छ । संख्या अरूसँग पनि छ, धम्की दिने कामले एमाले डराउँदैन । र, संख्याको दुरुपयोग गर्दैन,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस