विश्वकपमा नेपाली टोली देख्दा हजारौं युवालाई ब्याट र बल बोक्ने उत्साह बढ्नेछ : पारस खड्का

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, ११ : २३
विश्वकपमा नेपाली टोली देख्दा हजारौं युवालाई ब्याट र बल बोक्ने उत्साह बढ्नेछ : पारस खड्का

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालको उपस्थितिले हजारौं युवा र बालबालिकाहरूमा ब्याट र बल बोक्ने उत्साह बढ्ने बताएका छन् । १० वर्षपछि पुन: नेपालले विश्वकप क्रिकेटमा पहिलो खेल खेल्नुअघि उनले विश्व सामु नेपालको नामलाई पुन: शिखरमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

सन् २०१४ मा बंगलादेशमा पहिलोपटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दाको क्षणलाई उनले सिंगो देशकै लागि गौरवशाली क्षणका रूपमा स्मरण गरेका छन् । 'एक दशक लामो अन्तरालपश्चात नेपाली क्रिकेट टोली आज विश्वकपको मंचमा चन्द्र-सुर्य ध्वजासहित उत्रिने छ।

सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दै-गर्दाको त्यो पल सिंगो देशकै लागि गौरवशाली थियो,' उनले लेखेका छन्, 'एक दशकको आरोह अवरोहहरूबीच आज राष्ट्रिय क्रिकेट टोलीले जुन उचाई हासिल गरेको छ यो सिंगो राष्ट्रका लागि प्रेरणादायी कथा हो ।

विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौ युवा र बालबालिकाहरूलाई क्रिकेटको ब्याट र बल बोक्ने उत्साह बढ्नेछ।'उनले  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामनासमेत दिएका छन् ।

टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस