बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशका १२ जिल्लामा सञ्चालित भएका पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन र पूर्वाधार विकासमा केही नयाँ कार्यक्रम राखिएका छन् ।
लुम्बिनी सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने पनि प्रदेश सरकारको घोषणा छ ।
नीति तथा कार्यक्रममा व्यवसायिक कृषि प्रदेशको समृद्धि, किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार सिंचाईमा सुधार लगायत कार्यक्रम समावेश छन् ।
यस्तै लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन नीति र कार्यक्रम बनाइने, पाल्पा, अर्घाखाँची र रोल्पालाई हिलस्टेशनको रुपमा विकास गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ ।
तिनाउ करिडोर, तिलौराकोट, शिवपुर, पूर्वीरुकुम र स्वर्गद्वारीमा नयाँ शहर विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अर्घाखांची र गुल्मीलाई खोरेत रोगमुक्त जिल्ला घोषणा गरिने उल्लेख छ ।
गुल्मीलाई गुड र कफी, पाल्पालाई ढाका र करुवाको उत्पादन हब बनाइने उल्लेख छ ।प्रदेशमा बालबालिका मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, खेल गतिविधिमा वृद्धि ल्याउने, सडक सञ्जाल, शैक्षिक गुणस्तर वृद्धि, सुशसान, सेवाप्रवाह र गुणस्तरमा ध्यान दिने नीति सरकारले लिएको छ ।
लुम्बिनीमा उद्योगको विस्तार, सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
यस्तै उज्यालो लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयन गरिने, युवालाई अनुशासित बनाउन प्रदेश स्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पुर्याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी