१० रुपैयाँको लोभ देखाएर बालिकाको बलात्कार र हत्या

विहीबार, ११ असोज २०७५, ११ : ५५
१० रुपैयाँको लोभ देखाएर बालिकाको बलात्कार र हत्या

बलात्कारी सार्वजनिक गर्दै कास्की प्रहरी ।

पोखरा : पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीमा बसोवास गर्ने १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।सोमबार साँझ साढे ५ बजेदेखि हराएकी विकलाई स्थानीयले मंगलबार बिहान कोदीस्थित जंगलमा मृत फेला पारेका थिए ।

मृत फेला परेकी विकको टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्थाको प्रकृति हेर्दा स्थानीयवासीले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए, जुन घटना पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टअनुसार विकको बलात्कारपछि हत्या भएको देखिएको छ ।

मृतक विकको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । विकलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । पौडेलले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । 

कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदी भन्ने स्थानमा बालिका मृत भेटिएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा बालिकाको शवको पोष्टमार्टम गरिएको थियो ।

यसरी भएको थियो बलात्कार तथा हत्या

बलात्कारपछि हत्या भएकी बालिका श्रीया विक कोदीस्थित मामाघरमा आमासँगै बस्दै आएकी थिइन् । दुई वर्षअघि श्रीमानले दोस्रो बिहे गरेपछि श्रीयाकी आमा बेलकुमारी चार जना छोराछोरी लिएर माइतीको शरणमा बसेकी थिइन् । 

सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न भनी पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् । त्यसपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान कोदीमा बरालहरूको कुल मन्दिरको पूर्वी भागको भिरालो जमिनमा उनी मृत फेला पारेकी थिइन् ।

बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेल श्रीयाका छिमेकी हुन् । हाल कोदीमा बस्दै आएका पौडेल वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् । 

उनले साथीहरूसँग बसेर स्थानीय भट्टीमा रक्सी पिएका थिए । त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घर पुगेका उनले अझै रक्सी पिएका थिए । त्यसपछि चुरोट किन्न भनेर नशामा पसलतर्फ लाग्छन् । सोही समयमा बालिका पनि मामाको घरबाट एक्लै तल झर्दै गरेको उनले देख्छन् ।

मामाको घरबाट ७० मिटर तल रहेको मन्दिरमा विक र पौडेलको भेट हुन्छ । त्यतिबेला पौडेलले विकलाई चकलेट खाऊ भनी ५ रुपैयाँसमेत दिएका थिए । त्यसपछि मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानी ट्यांकी बीचमा पौडेलले विकलाई बोलाए । 

स्थानीयका अनुसार त्यो घर वर्षौंदेखि बन्द अवस्थामा छ । सोही घरमा बोलाएर १० रुपैयाँ दिई जबर्जस्ती गर्न खोज्दा विकले प्रतिकार गरिन् ।

प्रतिकार गरेपछि नशामा रहेका पौडेलले बालिकालाई पानी ट्यांकीमुनि रहेको झाडीमा फालिदिए । झाडीमा नै गएर कपडा खोली जबर्जस्ती गर्न खोज्दा विक चिच्च्याइन् । तर, पौडेल त्यतिमै रोकिएनन्, चिच्च्याउन थालेपछि उनले दुवै हातले बालिकाको घाँटी अँठ्याए र बलात्कारसमेत गरेका हुन् । 

यसरी खुल्यो रहस्य

बलात्कार र हत्या घटनामा संलग्न अभियुक्तलाई कास्की प्रहरीले २४ घण्टाको अन्तरालमै पक्राउ ग¥यो । संवेदनशील घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीको कमान्डमा गठिन विशेष अनुसन्धान टोलीले अभियुक्त कुसुम पौडेललाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

डिएसपी कार्कीका अनुसार घटना थाहा पाएलगत्तै प्रहरीले उक्त क्षेत्रमा ३० जनाको संख्यामा सिभिल प्रहरी परिचालन गरेको थियो । प्रहरी परिचालन गर्नुअघि कुकुर परिचालन गरे तापनि प्रहरीले विशेष कुनै क्लु भने भेट्न सकेन ।

‘कुकुर परिचालनबाट केही संकेत नपाएपछि हामीले कभर्ट परिचाल ग¥यौं । प्रत्येक घर, होटल, भट्टीमा अनौपचारिक सोधपुछ भयो । सोधपुछकै क्रममा एक व्यक्तिले दिएको क्लुका आधारमा हामीले शंकास्पद दर्जनौं व्यक्तिलाई राति १० बजे नै जिल्ला प्रहरी कार्यालय ल्यायौं,’ कार्कीले भने, ‘शंकास्पद व्यक्तिलाई छुट्टाछुट्टै राखेर सोधपुछ गर्दा हत्याका आरोपितमा धेरै फल्ट भेट्यौं, पछि उसले नै प्रायश्चित्तको हिसाबले सबै घटना खुलस्त ग¥यो ।’

कास्की प्रहरी प्रमुख एसपी ओम रानाले अपराधीमाथि बलात्कार र हत्या मुद्दामा आजीवन कारावास हुने बताए ।
 

प्रतिक्रिया दिनुहोस