भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा, ध्यानमा मोदी

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १६ : ०२
भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा, ध्यानमा मोदी

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा पुगेको छ । शनिबार सातौँ तथा अन्तिम चरणको चुनाव हुन लागेको हो ।

बिहीबार देशका सात राज्यमा ५७ सिटमा मतदान भएको थियो । यस मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाह, कंग्रेसका सांसद राहुल गान्धी आदिको निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।

शनिबारको निर्वाचनसँगै डेढ महिना लामो मतदान सकिनेछ । शनिबार पन्जाबको १३ सिट, हिमाञ्चलमा चार सिट, उत्तर प्रदेशमा १३ सिट, पश्चिम बङ्गालमा ९ सिटमा मतदान हुनेछ । बिहारमा ८ सिट, ओडिसामा ६ सिट अनि झारखन्डमा ३ सिटमा पनि सोही दिन मतदान हुनेछ ।

यस निर्वाचनमा वारणासीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएका छन् । उनी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।शनिबारको मतदानमा भाजपाका संघीय मन्त्री अनुराख ठाकुर हिमाचलको हामिरपुरबाट उठेका छन् । अभिनेत्री कङ्गना रनावत प नि भाजपाको मन्डी सिटमा उठेकी छन् ।

भाजपाले गोरखपुरबाट अभिनेता रवि किशनलाई उठाएको छ । अप्रिल १९ देखि मे २५ सम्म चलेको छ चरणको मतदानमा २८ राज्यका ४८६ सिटमा मतदान भएका छन् । यी क्षेत्रमा ६२ दशमलव २ प्रतिशतदेखि ६८ दशमलव १६ प्रतिशत मत खसेको छ ।  

यसैबिच प्रधानमन्त्री मोदी कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा २ दिनसम्मको ध्यानमा बसेका छन् । मोदी त्यहाँ जुन १ सम्म ध्यानमा रहनेछन् । यस बिचमा उनले तरल पदार्थ मात्रै खाने बताइएको छ । मोदीको यस ध्यानलाई धेरैले चासो दिएर हेरेका छन् ।