गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १६ : ५२
गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

गुल्मी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गुल्मीमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको हो ।

३९२ केन्द्रमार्फत १० हजार ८१० जना बालबालिकालाई आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने छ ।

पहिले यो खोप लिन छुटेका एक वर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले अभियानको माध्यमबाट आईपीभी खोप दिन लागिएको आचार्यले बताए ।आचार्यले भने, ‘निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा जाने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने छ ।’

गुल्मीमा जेठ २१ देखि २८ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस