अभ्यास खेलमा क्यानडासँग हार्‍यो नेपाल

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, ०६ : ३९
अभ्यास खेलमा क्यानडासँग हार्‍यो नेपाल

डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । 

कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।

रवीन्द्रपाल सिंहले खेलको अन्त्यतिर विस्फोट ब्याटिङ गर्दै ४१ रन बनाए । उनले मात्र १७ बलमा १ चौका र ४ छक्का हिर्काए । 

ओपनर नवनित धालिवालले २७ बलमा ३२ रनको योगदान दिए । उनले ४ चौका हिर्काए । डिलन हेलिगर र परगत सिंहले १३–१३ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले २ विकेट लिए । त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस