काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो : महेश बर्तौला

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, १३ : ३५
काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो :  महेश बर्तौला

काठमाडौँ । सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको विषय निरूपण गर्न छलफल बाक्लिँदै जाँदा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच झन् तनाव चुलिएको छ।

काँग्रेसले गिरिबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोषी करार गर्न खोजेको भन्दै एमालेले प्रतिवाद गरेको छ।काँग्रेसले त्यो विषय प्रष्ट नपारी ऊसँगका संवाद, छलफल र समझदारीको कुनै अर्थ नहुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘काँग्रेस संवाद, सहमति गर्न चाहिरहेको छैन। बरु ऊ द्वन्द्व, तनाव, मुठभेडको अवस्था चाहन्छ भन्ने कुराको औपचारिक अभिव्यक्ति महामन्त्री विश्वप्रकाश शर्माले दिइसकेका छन्,’ बर्तौलाले भने।

संसदीय समिति बनाउने सहमतिपछि पनि सदनको अवरोधलाई कायमै राख्ने र पार्टी अध्यक्षमाथि निराधार, तथ्यहीन आरोप लगाउनको निहित उद्देश्य के हो भनेर काँग्रेसले प्रष्ट पार्नुपर्ने बर्तौलाको भनाइ छ।

सत्तापक्ष जिम्मेवार भएर संवाद र सहमतितर्फ अग्रसर भइरहँदा काँग्रेसले सभामुखविरुद्ध महाभियोगको विषय अघि सारेको बर्तौलाले बताए। ‘यी सबै घटनाक्रमबाट काँग्रेसले सहमति चाहिरहेको छैन भन्ने प्रष्ट हुन्छ। त्यसकारण उसले आफ्नो उद्देश्य प्रष्ट पारोस्। उसले द्वन्द्व र मुठभेडको अवस्था नै निम्त्याउन खोजेको हो भने राजनीतिक प्रतिवादका लागि एमाले तयार छ। यी विषय प्रष्ट नपारी ऊसँगको संवादको कुनै अर्थ छैन,’ बर्तौलाले भने।

 

प्रतिक्रिया दिनुहोस