काठमाडौँ । स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो ।
निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैँले गर्न सक्ने’ उल्लेख गरिएको छ ।
पालिकामा उल्लेख भए बमोजिम गरिएको शिक्षक व्यवस्थापनसम्बन्धी कार्यको विवरण सम्बन्धित एकाइमा लेखी पठाउनुपर्नेछ र एकाइले नियमावली बमोजिम आफूले गर्नुपर्ने निर्णय गरी अभिलेखीकरण गर्नुपर्नेछ ।
आवश्यक कागजात प्राप्त भइसकेपछि सरुवा भई जाने, आउने विद्यालय फर–फरक स्थानीय तहको भएमा अथवा जिल्लान्तर भएमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षक सरुवा गर्नेछ ।
निर्देशिकामा भनिएको छ ‘पेस भएका कागजात रुजु गरी तीन दिनभित्र अन्तर स्थानीय तह वा जिल्लान्तर रूपमा शिक्षकको सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह र एकाइलाई जानकारी दिनुपर्नेछ ।’
त्यसको लागि स्थानीय तहले प्राप्त कागजात यकिन गरी नियमावलीको अनुसूची १७ बमोजिम आफ्नो सहमतिसहित तीन दिनभित्र प्राप्त कागजात शिक्षक सरुवाका लागि सम्बन्धित एकाइमा पठाउनुपर्नेछ ।
त्यस्तैगरी रिक्त भएको पद र पूर्ति भएको पदसम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले तत्तत् विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा तत्काल अद्यावधिक गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
शिक्षक सरुवासम्बन्धी व्यवस्थालाई प्रभावकारी तथा व्यवस्थित बनाउन केन्द्रमा एकीकृत पोर्टलको विकास गर्न सकिने र शिक्षक सरुवासम्बन्धी सबै विवरण तथा कार्य विकसित पोर्टलमार्फत गर्न सकिने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, १३ : १६
लेखकबाट थप