म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।
गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए ।
इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् ।
यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए । प्रारम्भमा २१ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको ‘भेरियसन अर्डर’ गर्ने क्रममा लागत बढेर २४ करोड पुगेको छ । हालसम्म १८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।
सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै ८ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताए । राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए ।
स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ ।
स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् । लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने ३.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ ।
यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को ६.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ बैशाख २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार
कालीगण्डकी करिडोर अवरुद्ध
कालीगण्डकी करिडोरको महभीरमा लगातार पहिरोः जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता
पहिरोले कालीगण्डकी करिडोर बन्द
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द
पहिरोले कालीगण्डकी करिडोर ३ दिनदेखि बन्द