गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, १० : ५९
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

तेल अभिभ । इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ७ पटक मध्यपूर्वको भ्रमणमा गइसकेका छन् । बुधबार मध्यमपूर्वमा आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न भनेका छन् ।

‘हामी जतिसक्दो चाँडो युद्धविराम गर्न प्रतिबद्ध छौं, ताकि सबै इजरायली बन्धकहरू घर फर्कन सकुन् । हमासले यसमा अवरोध सृजना गरिरहेको छ ।’ तेल अभिभमा इजरायली राष्ट्रपति हर्जाेगसँगको भेटघाटका क्रममा ब्लिन्केनले भने ।‘हामीले प्रस्ताव गरेका छौं, अब यसलाई स्वीकार गर्ने बेला आएको छ’ उनले भनेका छन् ।

 

के छ प्रस्तावमा ?

 

इजरायल–हमासबिचको युद्ध रोक्नदेखि प्रस्तावित युद्धविराम सम्झौताको शुरुमै ३३ इजरायली बन्धकहरूलाई रिहा गर्न माग गरिएको अमेरिकी सञ्चार गृह न्यूयोर्क टाइम्सले एक समाचारमा भनेको छ । यसको बदलामा इजरायलले आफ्नो जेलमा कैद रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । इजरायलले गाजामा पनि आफ्नो आक्रमण बन्द गर्नेछ ।

हमासका प्रवक्ता ओसामा हमदानले बुधबार राति एक लेबनानी टिभी च्यानललाई दिएको अन्तरवार्तामा आफूले सम्झौता स्वीकार नगर्ने बताएका थिए । तर पछि हमासको प्रेस कार्यालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताका सम्बन्धमा आफ्नो अडान नकारात्मक भए पनि यसबारे वार्ता गर्न तयार रहेको बताएको थियो ।

सम्झौताका लागि किन चिन्तित छन् बाइडेन ?

हमासका अनुसार युद्धमा अहिलेसम्म ३४ हजार मानिसको मृत्यु भइसकेको छ । केही सातादेखि अमेरिकी विश्वविद्यालयहरूमा युद्धको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । गाजा जारी युद्धमा अमेरिकाले आफ्नो मित्र देश इजरायललाई सहयोग नगर्न विद्यार्थीहरूको माग थियो ।

पीबीएस न्युजका अनुसार बाइडेनको इजरायल नीतिले यस वर्षको अन्त्यमा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनलाई असर पार्न सक्नेछ । गाजा मामिलामा उनले युवा मतदाताको मत गुमाउन सक्छन् । यस्तो अवस्थामा बाइडेन कुनै ढिलाइ नगरी युद्धविराम सम्झौता गराउन चाहन्छन् ।

ब्लिन्केन–नेतन्याहुबिच तीन घण्टा लामो भेटवार्ता

मध्यपूर्वको भ्रमणका क्रममा ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ३ घण्टासम्म भेटघाट गरेका थिए । यस भेटघाटमा दुईबिच गाजा युद्धबारे छलफल भएको थियो । ‘गाजाको रफाह क्षेत्रमा इजरायलको सैन्य कारबाहीलाई अमेरिकाले समर्थन गर्दैन ।

यसमा सर्वसाधारणको ज्यान जोखिममा छ । इजरायलले हामीलाई अहिलेसम्म रफाहमा सैन्य कारबाहीमा सर्वसाधारणको जीवनमा कुनै हानी हुँदैन भन्ने कुनै योजना देखाउन सकेको छैन ।’ अबेर रात सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ।

प्रतिक्रिया दिनुहोस