नेपाल टेलिभिजनमा संस्कृतमा समाचार सुरु

शनिबार, ०६ असोज २०७५, १४ : ०१
नेपाल टेलिभिजनमा संस्कृतमा समाचार सुरु

काठमाडौं : नेपाल टेलिभिजनले शनिबारबाट संस्कृत भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवर्द्धन र संरक्षण हुने र त्यसका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने अपेक्षा गरिएको छ । 

टेलिभिजनले थारू, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधि भाषामा नियमित कार्यक्रम तथा नेपाली, अंग्रेजी र सांकेतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । नेपाल टेलिभिजनले संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्वपूर्ण ग्रन्थमाथि संवादका कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । 

नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार सुरु गरिएको हो । विसं २०५२ मा पहिलोपटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस