हामीले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते गरेका छैनौं : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, १७ बैशाख २०८१, १३ : ३१
हामीले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते गरेका छैनौं :  माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने बताएका छन् । पार्टी निकट अनेमसंघको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावदेखि चुनावको अभियानमा नभएको बताए ।

उनले भने, ‘हाम्रो पार्टी देश विकासको सवालमा चिन्तित छ, कसैकसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जानको लागि मन्त्री र प्रधानमन्त्री बन्नेको लागि मरिहत्ते गरिहेको छ कि भन्ने कुरा त्यो लोभी पापीहरुले भन्ने कुरा हो । इमानदार मान्छेहरुको होइन । बरु एउटा कुरा छ । हाम्रा मान्छे गए भने राम्रा काम गर्नेछन् । हाम्रा पार्टीसँग जोडिएका नेता कार्यकर्ता सरकारमा गए भने राम्रो काम गरेर देखाउनेछन् । राम्रो काम नभइरहेको कुराहरुले हामीलाई पोल्नुपर्छ, अरु भन्दा भिन्न छौं भनेर देखाउन सक्नुपर्छ । यसअर्थमा हामी सत्ताको लागि होइन, चुनाव चुनावका लागि होइन, देश र समाज परिवर्तनको लागि हो भनेर लाग्नुपर्छ ।

उनले अहिले अहिले कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आइरहेको बताए ।उनले थपे, ‘राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट छैनन् भने पार्टी अगाडि बढ्न सक्दैन । मिसन के हो ? चुनावमात्रै हो ? मिसन जनताको मुक्ति हो । त्यसको लागि समाजलाई राम्रो बनाउनुपर्छ ।’

उनले नेपालको राजनीतिलाई ठिक दिशामा अगाडि बढाउन आफ्नो पार्टीको निर्णायक भूमिका रहेको जिकिर गरे । उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।