आईपीएलः हैदराबादलाई हराएको चेन्नई तेस्रो स्थानमा

एजेन्सी

सोमबार, १७ बैशाख २०८१, ०८ : १९
आईपीएलः हैदराबादलाई हराएको चेन्नई तेस्रो स्थानमा

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स (सीएसके)ले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

आइतबार राति आफ्नो घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नईले हैदराबादलाई ७८ रनले हराएको हो । चेन्नईको जीतमा कप्तान ऋतुराज गैकवाडको उत्कृष्ट प्रदर्शन गरे । शतकबाट थोरैले चुकेका ऋतुराजले ५४ बलमा ९८ रन बनाए । उनले १० चौका र तीन छक्का प्रहार गरेका हुन् । ड्यारी मिचेलले ५२ रनको योगदान गरे । शिभम दुबेले ३९ रन जोडे ।

पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेट गुमाए २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा हैदराबादले १८.५ ओभरमा अल आउट भएर मात्र १३४ रन बनाउन सक्यो ।

हैदराबादको ब्याटिङ भने चल्न सकेन । ऐडन मारक्रमले २६ बलमा सर्वाधिक ३२ रन बनाउनबाहेक अरुले उल्लेख्य रन जोड्न सकेनन् ।

चेन्नईका टुसार देशपाण्डेले तीन ओभरमा सर्वाधिक चार विकेट हात पारे । मुस्तफिजुर रहमान र माथिशा पाथिरानाको नाममा समान दुई विकेट रह्यो ।

यससागै चेन्नईले आफ्नो घरेलु मैदान चेपौकमा ५० औं जीत दर्ता गरेको छ । चेन्नई आईपीएलमा कुनै एक स्थानमा ५० भन्दा बढी खेल जित्ने तेस्रो टोली पनि बनेको छ । यसअघि मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स (केकेआर)को टोलीले पनि आफ्नो घरेलु मैदानमा ५० भन्दा बढी जीत दर्ता गरिसकेका छन् ।

हैदराबादमाथिको ठूलो जीतसँगै चेन्नईले अंक तालिकामा तीन स्थानको ठूलो फड्को मारेको छ । पाँच जीतसहित १० अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने हैदराबादको टोली लगातार दुई हारका साथ चौथो स्थानमा छ ।