राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, १६ : ००
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् ।

बिहीबार आयोगले १६औँ योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको एक होटलमा बैठक राखेको थियो । बैठकलाई सम्बोधन गर्ने क्रममा होटलमा कार्यक्रम आयोजना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘म कार्यक्रममा आउँदै गर्दा योजना आयोगका उपाध्यक्षलाई मैले सोधेँ, किन होटलमा कार्यक्रम राखेको, सिंहदरवारमा हाम्रो छँदैछ नि, ४१३ पनि छ, अर्को ठूलो हल पनि छ ।’

बैठकमा सामूहिक छलफलको समेत कार्यक्रम राखिएका कारण स्थान अपुग हुने भएर होटलमा कार्यक्रम राखिएको जवाफ उपाध्यक्षले दिएको प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यस पटक त भयो, आगामी दिनमा यस्ता सबै कार्यक्रम सिंहदरवारमै गरौँ, त्यहाँ जति पनि ठाउँ छ ।’

 

प्रतिक्रिया दिनुहोस