मुस्ताङ। हिमाल पारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालू आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा सात जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।उनका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरू ४५ देखि ७३ वर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।
आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो ।मृतकमध्ये सात भारतका, एक थाइल्याण्डका र चार जना नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
प्रहरी अभिलेखअनुसार उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।प्रहरीका अनुसार चालू आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ ।
असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उनीहरू ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् ।
मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठ जना भारतीय रहेका छन् । उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।
गत चैतमा मात्र छ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ ।दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ ।
लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।
मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मष्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस् हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङको सौन्दर्य चित्रमा
नौ महिनामा मुस्ताङमा १ लाख पर्यटक
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो